बजार पुर्याउन नपाउँदा बगानमै केरा नष्ट

झापा । जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ ।
भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती गरेका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताए ।
यसपाली उत्पादन राम्रो भएपनि बजार पुर्याउन नपाएको उनको गुनासो छ । जेनजी प्रदर्शन सकिएतापनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले बगानमा पाकेका केरा ठूलो परिमाणमा नष्ट हुने जोखिम बढेको उनी बताउछन् ।
यहाँ उत्पादित केरा काठमाडौँ, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धरान, इलामलगायतका जिल्ला बाहिरका सहर बजारमा बिक्रीका लागि पुर्याउने गरिएको छ । किसानले प्रतिघरी केरा (एउटा बोट) ५०० देखि ६०० सम्ममा बिक्री गर्दै आएका छन् । तर, भारतबाट सस्तो मूल्यमा भित्रिने केराले नेपाली बजारमा स्वदेशी उत्पादनलाई चुनौती थपिएको किसानको गुनासो छ ।
कनकाई-३ र शिवसताक्षी-७ मा ७० बिघाह क्षेत्रफलमा चिनीचम्पा र मद्रासी जातको केराखेती गरिरहेका बेनु पराजुलीले गत वैशाखमा हावाहुरीले पुर्याएको क्षतिको चोट नथाक्दै विषम् राजनीतिक परिस्थितिले २०० घरी पाकेको केरा बगानमै नष्ट भएको बताए ।
झापा गाउँपालिका-३, ४, ६ र ७ मा ३० बिघाह केराको व्यवसायिक खेती गर्दै आएका चन्द्र बस्नेतको जेनजी प्रदर्शनकाक्रममा रु १० लाख बराबरको क्षति भएको छ । उनका अनुसार प्रदर्शनकारीले बगानभित्रै पसेर केरा काटेर नष्ट गरिदिएका थिए ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट जिल्लामा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको बताउछन् । जिल्लामा वार्षिक ३८ हजार ८३३ मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया