रोकिएका सरकारी सेवा सञ्चालन हुँदै

नेपालखोज २०८२ असोज २ गते २१:०१

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शन क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमिक रुपमा सञ्चालनमा ल्याएको छ । गत आइतबारदेखि शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सञ्चालन गरेको कार्यालयले शुक्रबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु गरिने जनाएको छ ।

लेखनाथमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्तासँगै यसअघि दर्ता भई प्रिन्ट भएर आएका परिचयपत्रको वितरण सुरु गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालित अभियानका क्रममा विवरण दर्ता गरी प्रिन्ट भएका परिचयपत्र वितरणका लागि भनेपछि सूचित गरिने कार्यालयले जनाएको छ ।

आन्दोलनका क्रममा उक्त परिचयपत्रसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विद्युतीय उपकरण आगजनीमा परी नष्ट भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट नयाँ उपकरण माग गरी सेवा सञ्चालन गर्न लागिएको हो । कार्यालयबाट प्रदान हुने सबै सेवा पूर्ववत् रुपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।

कार्यालय भवन सरसफाइ, मर्मत सम्भार, रङरोगनलगायत कार्य भइरेहेकाले सेवा प्राप्तिमा धैर्य गरिदिन सेवाग्राहीमा अनुरोध गरिएको उहाँको भनाइ छ । हाल दुई वटा कार्यकक्षबाट सेवा प्रवाह भइरहेको र अन्य कार्य कक्ष मर्मतको काम भइरहेको जनाइएको छ । सुरक्षाकर्मी, कर्मचारीलगायत आवश्यक जनशक्ति परिचालन गरेर कार्यालय सरसफाइ र मर्मतसम्भारको काम गरिएको हो ।

‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको छ । कार्यालयको भौतिक संरचना कुरूप बनेको छ । कम्प्युटरलगायत महत्वपूर्ण उपकरण जलेका तथा लुटपाट भएका छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षा लगायतका सेवासम्बन्धी सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय, पाखेरा महानगरपालिकालगायत कार्यालय सार्वजनिक सेवालाई क्रमशः सहज बनाउने तयारीमा जुटेका छन् । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयसहित प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । -रासस

प्रतिक्रिया