यातायात व्यवस्थापन सहज बनाउन निर्देशन, नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

नेपालखोज २०८२ असोज ४ गते १६:००

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् ।

छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन् ।

बैठकमा काठमाडाैं उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरुमध्ये सार्वजनिक सवारीसाधनहरु नागढुङ्गा-सिस्नेरी-सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरु प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।

काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त-दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरुको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुनेगरी ठूला भारबहन सवारीसाधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त सडकखण्डका लागि खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारीसाधनहरुलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।

मुलुकभरका मुख्य सडकहरुलाई चुस्त-दुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपद्हरुको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउनेगरी आवश्यक कार्य गर्नरगराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ ।

आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । मुलुकभरिको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्नरगराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया