पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

नेपालखोज २०८२ असोज ५ गते ८:१०

दोधारा चाँदनी (कञ्चनपुर) । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उनले अहिले उक्त पेसाको विकल्प खोज्न थालेका छन् । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताए ।

मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ, बादीले भने, अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रुपमा पाउन मुस्किल छ । यसकारण पनि यो समुदायले पुख्र्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।

केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बादीले भने, अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन् । उनले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको बताए ।

अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ । अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ, उनले भने, भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् । दसैँका समयमा मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि रु १२ हजारसम्म लिने गरेको बादीले बताए ।

छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उनको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताए । जतिबेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो । वादीले भने, अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।

दामाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उनका अनुसार भारतीय बजारमा एउटा छालाको एक हजारसम्म खरिद गर्न पाइन्छ । यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन, बादीले भने, भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उनले सिजनमा भने मादल बनाउने गरेको बताए । अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु, बादीले भने, पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ । बादी समुदायको पुख्र्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ ।

प्रतिक्रिया