जङ्गली हात्ती गाउँपसेपछि रातभर जाग्राम

कञ्चनपुर । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् ।
हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिए । उनले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताए ।
वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उनले बताइन् ।
जङ्गली हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन् । अधिकांशको जग्गा बाँझो रहेको यहाँका स्थानीय बताउँछन् । छिमेकी मुलुक भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् ।
केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्याउँदै आएको छ ।

प्रतिक्रिया