देशका विभिन्न ठाउँमा सडक अवरुद्ध

काठमाडौं । आज पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट-डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान जाजरकोटको नलगाड नगरपालिका-११ भिरकुनास्थित जाजरकोट-डोल्पा खण्डमा माथिबाट ढुङ्गा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, म्याग्दी बेनी-दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार आज बिहान ५:२५ बजे म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी-दरवाङ खण्डमा माथिबाट लेदो, माटोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
चितवनको मुग्लिङ-नारायणगढ खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असोज ३ गते साँझ ६ः२५ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पहिरो खसेको थियो । उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या भइरहेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।
बाढीका कारण रसुवास्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा बाढी आइरहेकाले गोसाइँकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए ।
त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-६ स्थितमा जाजरकोट–डोल्पा खण्ड (भेरी करिडोर) अवरुद्ध रहेको प्रहरीले जनाएको छ । भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध रहेको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया