भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

गण्डकी । ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा बैठकलगायत प्रदेशसभाको कामकारबाही अनिश्चित बनेको छ ।
गत भदौ २५ गतेलाई प्रदेशसभा बैठक डाँकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ मा प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए ।
सभामुख कृष्णप्रसाद धितालले पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचना पूर्ण रुपमा क्षतिग्रस्त भएकाले प्रदेशसभा सचिवालयको कार्यालय सञ्चालनमा ल्याउन नसकिएको बताए । तोडफोड र आगजनी गरिएका ठाउँमा सरसफाइको काम भइरहेको उनको भनाइ छ ।
सभामुख, उपसभामुखको आवाससम्म मर्मतसम्भार गरेर जेनतेन बस्ने व्यवस्था मिलाएका छौँ, उनले भने, प्रदेशसभाका लागि उपयुक्त भवनको खोजी गरिरहेका छौँ, जिल्ला समन्वय समिति र कृषि मन्त्रालयको हललाई विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ, टुङ्गिसकेको छैन ।
सभामुख धितालले प्रदेशसभाको नयाँ भवन हालै शिलान्यास गरी निर्माण सुरु गरिएकाले त्यो भवन नबनेसम्म वैकल्पिक व्यवस्था गर्न लागिएको बताए । भवनको व्यवस्था भएपछि मात्र प्रदेशसभा बैठकसहित प्रदेशसभा सचिवालयका नियमित कामकारबाही सुरु हुने उनको भनाइ छ । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित रहेको सभामुख धितालले बताए ।
प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको भवन भएकाले आगलागीले पूर्ण रुपमा क्षति पुर्याएको सभामुख धितालले बताए । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो ।
‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनलगायत भौतिक संरचनामा पुगेको क्षतिको मुल्याङ्कन गर्ने काम भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभासहित प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवसमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने कार्य भइरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले बताए ।
उनका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवन तोडफोड र आगजनीमा परी क्षतिग्रस्त बनेका छन् । कार्यालय भवनहरुको सरसफाइ, रङ्गरोगन र मर्मतसम्भारको काम भइरहेको प्रवक्ता डा गुरुङले बताए ।








प्रतिक्रिया