राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

नेपालखोज २०८२ असोज ६ गते १५:१७

दोधारा चाँदनी (कञ्चनपुर) । दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरुले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

आफूहरूको आम्दानीको मुख्य स्रोत नै सरकारले दिने भत्ता भएको उल्लेख गर्दै दसैँमा भत्ता नआउँदा दुःख लागेको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का बडसिंह राउटेले बताए । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले दसैँ सुरु हुँदा पनि भत्ता आएन, उनले भने ।

समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरूलाई खाद्यान्न, नुन, तेललगायत किन्न समस्या भएको उनको भनाइ छ । हामी बूढाबूढीको रु २४ हजार भत्ता आउथ्यो त्यसै खर्चले हामीले पनि चाडपर्व मनाउथ्याै, राउटेले भने, जङ्गलबाट सरकारले गाउँमा ल्यायो, काठका सामग्री बनाउन पनि काठ नपाउने अवस्था छ ।

जङ्गलका कन्दमूल खाने र काठबाट भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्ने भए पनि बस्तीमा बस्दा छेउछाउका सामुदायिक वनबाट काठ ल्याउन नपाइने हुँदा काठको भाँडाकुँडा बनाउन पनि समस्या हुने गरेको किरीदेवी राउटेले बताए । यहाँ भत्ताबाहेक अन्य केही रोजगारी छैन, एउटा छोरो कमाउनका लागि भारत गएको छ, उनले भने, नौ महिना भारतमा मजदुरी गर्छ तीन महिना घरमा बस्छ त्यसैले गुजारा चलेको छ ।

आफूहरुको जीविकोपार्जन भत्ताको भरमा परिवार चल्ने गरेको उल्लेख गर्दै अनिता राउटेले भने, गाउँघरमा ज्यालामजदूरी गर्न पनि पाइँदैन, बस्तीमा टहरा मात्रै छ कमाइ खान जग्गा छैन । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले यस वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरणको समय एक महिना थप गरेकाले सामाजिक सुरक्षा भत्ता दिन नसकिएको बताए । पहिला भदौ मसान्तभित्र नवीकरण हुन्थो, दसैँ अगाडि भत्ता वितरण आउँथो, उनले भने, असोज मसान्तसम्म नवीकरणको समय भएकाले भत्ता दिन नसकिएको हो ।

उनका अनुसार उक्त वडामा २० जना राउटेले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । लोपोन्मुख राउटे समुदायका परिवारका सबै सदस्यले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

प्रतिक्रिया