अपहरणपछि हत्या प्रकरण : अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

नेपालखोज २०८२ असोज ७ गते १९:५३

सिरहा । यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का गरिएको छ । ‘हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन’, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, ‘दोषीलाई चाँडै कानुनी दायरामा ल्याइनेछ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ ।’

उनका अनुसार आज बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो । परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए ।

रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । आज बिहान शव फेला परेपछि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया