केन्द्रीय कमिटी विघटन गर्दै प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष दाहालले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरकोे प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उहाले बताए । बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने उनले जानकारी दिए ।
विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा अध्यक्ष दाहाल रहने निश्चित भएको भन्दै सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने जिकिर गरे ।
केन्द्रीय कमिटीमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि बिभाजन गरि , केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने सापकोटाले बताए ।

प्रतिक्रिया