करेन्ट लागेर मृत्यु भएका शिक्षकको परिवारलाई राहत प्रदान

नेपालखोज २०८२ असोज ८ गते २१:१८

सिरहा । यहाँको लहान नगरपालिका-२३ गाढा गाउँमा करेन्ट लागेर ज्यान गुमाएका शिक्षक विजेन्द्रकुमार सहनीका परिवारलाई लहान नगरपालिकाले राहत प्रदान गरेको छ ।

गत शनिबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर जनता माध्यमिक विद्यालयमा अध्यापन गराउने लहान-१९ का ३८ वर्षीय शिक्षक सहनीको निधन भएको थियो ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी आज पीडितको घर पुगी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सोही क्रममा उहाँले नगरपालिकाको तर्फबाट सहनीको परिवारलाई तत्काल राहतस्वरूप एक क्विन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।

साथै, नगरप्रमुख चौधरीले मृतककी पत्नी मञ्जु सहनीलाई योग्यताअनुसार सोही विद्यायलमा रोजगार उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए । मृतकका तीन सन्तानको शिक्षामा समेत सहयोग गर्ने आश्वासन उनले दिए ।

शिक्षक सहनीको असामयिक निधनले परिवारका साथै सम्पूर्ण शिक्षाप्रेमी समाजलाई स्तब्ध बनाएको नगरप्रमुख चौधरीले बताए । पीडित परिवारका लागि दीर्घकालीन सहयोग कार्यक्रमसमेत अघि बढाइने नगर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया