शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

नेपालखोज २०८२ असोज ९ गते १६:४६

कञ्चनपुर । एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन् ।

शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन् । उनले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।

उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गरेका थिए । पछि उनीलाई आफैँले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका हुन् ।

वैदेशिक रोजगारीको मोहले उनीलाई पनि नछोएको होइन । त्यसका लागि उनले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेका थिए । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफैँले केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरे ।

उनले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राखेका छन् । उनको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उनले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गरेका छन् । उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए । वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उनी भनाइ छ ।

तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उनको भनाइ छ ।

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सद्को समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आएका छन् । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो ।

सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।

प्रतिक्रिया