पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

नेपालखोज २०८२ असोज १० गते ११:३८

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो ।

भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौं-भरतपुर, भरतपुर-पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ ।

काठमाडौँबाट आउने र काठमाडौँ जाने दुवैको चाप बढेको उनले जानकारी दिए । पहिला काठमाडौँबाट आउने यात्रुको चाप बढ्ने गरे पनि अहिले दुवैतर्फ बढेको उनले बताए । दसैँ नजिकिएकाले पनि यात्रुको चाप बढेको हो ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला लगायका ठाउँ र पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा पहिरोको जोखिम भएसँगै यात्रुको चाप बढेको उनले बताए । बिहान ८:०० देखि अपराह्न ३:३५ बजेसम्ममा अहिले दैनिक १० उडान भर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

भरतपुर-पोखरा एउटा उडान र भरतपुर-काठमाडौं नौ उडान भरिँदै आएको उनले बताए । बस्नेतका अनुसार एयर ट्राफिकका कारण समस्या हुने भएकाले थप उडान गर्न नसकिएको उनले बताए । उडान थप हुँदासमेत यात्रुले सहज टिकट पाउने अवस्था छैन ।

रात्रिकालीन उडान नहुँदा हवाई यात्रा गर्ने यात्रुलाई समयको परिधिमा गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । यहाँबाट बुद्ध एयरले मात्र उडान भर्दै आएको छ ।

विमानस्थल प्रमुख दीपक विकेका अनुसार सामान्य अवस्थाभन्दा अहिले हवाई यात्रा गर्नेको चाप बढेको छ । पहिरो र चाडपर्वका कारण यात्रुको चाप बढेको उनले बताए । यहाँ हुँदै चितवनसहित मकवानपुर, नवलपरासीका यात्रु आउने जाने गर्दछन् ।

प्रतिक्रिया