साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हाले भने, ‘अर्थतन्त्रको महत्त्वपूर्ण पाटोका रूपमा रहेका घरेलु तथा साना उद्योगहरू मेरो र सरकारकै पनि प्राथमिकताप्राप्त क्षेत्र हो । छोटो समयका लागि यो जिम्मेवारीमा आएको छु केकति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।’
मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अङ्गीकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सृजना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताए ।
मुलुकको पुनर्निर्माण तथा मर्मतका कामहरूमा स्थानीय स्रोतसाधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनका लागि जेजति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरे ।
सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै उनले विशेषगरी फर्निचर र निर्माण सामग्रीमा पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने उल्लेख गरे ।

प्रतिक्रिया