बेमौसमी फूलखेती गरेर १५ लाख आम्दानी

दाङ । घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उनी फूल, माला बिक्री गर्दै आएको बताउछन् ।
चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए ।
रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् । अहिले उनले फूललाई प्रतिकेजी चार सयका दरले र माला एक थानलाई एक सयमा बिक्री गर्दै आएका छन् ।
उमेरले ४० वर्ष पुगेका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आएका छन् । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताछन् । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिएका छन् ।
अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताउछन् । उनले वार्षिक रूपमा ३५ लाख बढीको फूल, माला बिक्रीको कारोबार गर्छन् । यसबाट १०-१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताछन् ।
उनले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गरेका छन् । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उनले बताए ।
अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उनी बताउछन् । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उनी खुसी छन् । यस व्यवसायमा उनीलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।
जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गर्छन् ।

प्रतिक्रिया