आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

काठमाडौं । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उनको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो । आमालाई अफिसको काम देखाएर उनी आन्दोलनमा मिसिइन् ।
आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा जब भीडमाथि आक्रमण भयो, त्यसको सिकार लिजा पनि बनिन् । भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहँदा लिजालाई पछाडिबाट प्रहार गरिएको गोलीले बाँया कुम छेड्यो ।
हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौ, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौ, हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो, ट्रमा सेन्टरको उपचाररत लिजाले भनिन्, हामीले माइकबाट प्रदर्शनकारीलाई बारम्बार ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहान्न आग्रह गरिरह्यौ, तर कसैले सुनेनन् ।
लिजाका शब्दमा जब जेनजी युवाको आन्दोलन माइतिघरबाट नयाँबानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्यो, जुलुस शान्तिपूर्ण थियो । ती युवाहरुसँग न कुनै हतियार थियो, न त विशेष माग नै । उनीहरु भ्रष्टाचारविरुद्धको आफ्नो आवाजलाई सरकारलाई सुनाउन मात्रै चाहन्थे । तर जब उनीहरुको आवाजलाई दबाउन प्रहरीले हस्तक्षेप सुरु गर्यो, तब भीड आक्रोशित भयो, तितरबितर भयो ।
हामी नयाँ बानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाईको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो, लिजाले घटना सम्झँदै भनिन्, मलगायतले त्यो दाईलाई निजामती अस्पताल पठायौँ, यत्तिकैमा प्रहरीबाट अश्रुग्याँस प्रहार भयो, भीड तितरबितर भयो ।
लिजाले डेराबाट निस्कनु अघि आमालाई म पनि आन्दोलनमा जान्छु है भनेकी थिइन् । तर आमाले आन्दोलनमा जानु पर्दैन भनेपछि अफिस जाने बाहना बनाएकी रहिछन् । आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन, जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नुभएछ उनले फोन गरेर छिटो घर फर्कन भने, आमालाई म ठीक छु छिट्टै आउँछु भन्दै फोन राख्ने बित्तिकै मलाई गोली लाग्यो, उनले भने ।
लिजालाई मेटलको गोली लाग्नु अघि नयाँ बानेश्वरमा केही राउण्ड हवाई फायर भइसकेको थियो । जब भीड तोडफोडमा उत्रियो, तब प्रहरीले ताकेरै गोली हान्न थाल्यो । सुरुमा प्लाष्टिकको गोली प्रहार भएको भन्ने सुनिए पनि त्यो देखिएन । लिजालाई गोली लाग्नु अघि दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो ।
हाम्रो उद्देश्य तोडफोड र ढुङ्गामुढा गर्ने थिएन, त्यसैले अडिग भइ शान्तिपूर्ण रुपमा धर्नामा बसौँ भन्दै आह्वान गरिरहेका थियौँ, हामीलाई त गोली चल्छ भन्ने अनुमान गर्नै सकेनौँ, उनले भनिन् ।
लिजालाई गोली लाग्दा, आसपासका मानिसहरु तितरबितर भइसकेका थिए । दायाँ हातले आफूलाई सम्हाल्दै उनी रक्ताम्य शरीर लिएर ससद् भवनको अगाडि निकै बेर उभिइरहिन् । केही समयपछि एक जनाले आएर झण्डाले हात बाँधिदिए । दाईले साथ दिएपछि आत्मबल बढ्यो, अर्को दाईले बाइकमा एभरेष्ट अस्पताल पुर्याइदिनुभयो, उनले भनिन् ।
एभरेष्ट अस्पतालमा ब्याण्डेज गरेपछि चिकित्सकले गोली लागेकाले शल्यक्रिया गर्नुपर्छ भन्दै ट्रमा अस्पताल ‘रेफर’ गरिदिए । त्यसपछि उनी एम्बुलेन्समा ट्रमा सेन्टर आइपुगिन् ।

प्रतिक्रिया