जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ

नेपालखोज २०८२ असोज १३ गते १३:५८

काठमाडौं । ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । केही वर्षदेखि काठमाडौंमा भिडियोग्राफी गर्दै आएका उनी भक्तपुरको निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए ।

गएको भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर उनी घाइते भए । हाल महांकालस्थित ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।

मुलुकमा भइरहेको बेथिति अन्त्य गरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेका बेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्कीको बुझाइ छ ।

आन्दोलनमा सहभागिता, बानेश्वर घटना र अबको सोचबारे ट्रमा सेन्टरमा उपचारमा रहेका आन्दोलनका घाइते कार्कीसँग राससले गरेको कुराकानीको सम्पादित अंश पढ्नोस्– 

भदौ २३ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा सहभागी हुन बानेश्वरको एभरेस्ट होटेलअघि बिहान ११ बजे पुग्दा सो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको रहेछ । पहिले त्यहाँ शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । तीनकुने र माइतीघरबाट आउने आन्दोलनकारीको भीड दुवैतर्फ ठूलो थियो । 

ठूलो जुलुसले निषेधाज्ञा तोड्दै संसद् भवनअगाडि पुग्यो । ‘संसद् भवन खाली गर’ भनी दबाब सिर्जना गर्ने भन्ने थियो । त्यसक्रममा प्रहरीले अश्रुग्यास हान्न थाल्यो । सुरुमै अश्रुग्यास प्रहार भएपछि भीड रन्थनिएर आक्रमक बन्यो । युवाले ढुंगामुढा गर्न थाले । सुरुमा त्यो गर्ने मनसाय थिएन । त्यहाँ घुसपैठ कहाँनेर भयो थाहा भएन । हामी शान्तिपूर्ण आन्दोलन गर्ने सोचका साथ नै अघि बढेका थियौँ ।

हामी वास्तविक जेनजीजो देशको सार्वजनिक सम्पत्ति र सम्पदा नष्ट गर्नु हुँदैन भन्ने कुरामा प्रस्ट थियौँ । स्वार्थी, उदण्ड स्वभावका केही व्यक्ति आन्दोलनको मर्म र भावना नबुझ्ने र रमाइलो हेर्न गएका मानिस भने त्यसमा संलग्न भएको पाइयो । सुरक्षा फौजले हानेको त्यसबखत अश्रुग्यास टिप्दै उतै फर्काउँदै भाग्दै गर्नेक्रम चलिरहेको थियो । बार भत्काउने र संसद् भवनभित्र छिर्ने भन्ने भयो । त्यो दिन संसद् चल्छ भन्ने पनि सुनियो ।

भीडलाई थेग्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । अश्रुग्यास हान्ने, फर्काउने, ह्वारर्र अघि बढ्ने र आँखामा पनि छयाप्ने काम चलि नै रह्यो । एक्कासि ड्याङ ड्याङ र भटटटट गोली चल्यो । कहाँबाट हानियो भन्ने थाहै भएन । मसँगै छेउमा रहेका साथीहरू चार/पाँचजना गोली लागेर ढले ।

हामी संसद् भवनको दक्षिण मूलढोकाको अगाडि थियौँ । मलाई पनि एक्कासि गोली लाग्यो, रन्थनिएँ, अनि मुटु गाँठो पर्‍यो । त्यति हुँदा पनि दौडिएँ । मलाई गोली लाग्यो भनेर साथीहरूलाई भनेँ । त्यतिखेरै रगत पनि ह्वार्र ओइरियो । त्यो देखेर साथीहरूले उचालेर एम्बुलेन्समा हाले अनि एभरेस्ट अस्पताल पुर्‍याए । त्यहाँ बिरामी राख्ने ठाउँ थिएन । भुइँमै सुताएर सोधपुछ गरे । वरपर रगतको आहाल थियो ।

साथीहरू मलाई नआत्तिनु भनेर सान्त्वना दिइराखेका थिए । संसार घुमाएजस्तो लाग्यो, बेहोस हुँला जस्तो भयो । अक्सिजन कमजस्तो भए पनि त्यो लगाइदिनु भनेँ । अनि, साथीले ट्रमा सेन्टर पठाइदिनुभयो । त्यसपछि देशका लागि यतिसम्म गर्न सकँे भन्ने गर्व लाग्यो । भोलि आउने पीडिलाई राम्रो हुन्छ भने मेरो ज्यान गएर केही फरक पर्दैन भन्ने महसुस गरेँ ।

ट्रमा आएपछि साथीलाई मलाई गोली लाग्यो भनेर फोन गरे । हातै नचल्ने भयो भनी सुनाएँ । त्यसपछि दाइले मलाई फोन गर्नुभयो । त्यसपछि घरपरिवारका सबैसँग कुराकानी भयो । राति नै शल्यक्रिया भयो । होसमा आइपुग्दा सरकार परिवर्तन, राष्ट्रिय सम्पत्तिमा आगजनीसहित देशमा उथलपुथल भइसकेको रहेछ । सार्वजनिक सम्पत्ति जल्न हुन्थेन । कहाँबाट घुसपैठ भयो थाहा भएन । नेताहरूलाई एक हिसाबले सुकुम्वासी भए, घर न घाट भने बनाइदियो । कतिले के कति बदमासी गरेर सम्पत्ति जोडेका रहेछन् भन्ने छर्लंग बनाइदियो ।

नेपालमा कतैबाट भगवान् आएर व्याप्त भ्रष्टाचार, अन्याय र अत्यचार अन्त्य गरिदेओस् भन्ने लागेका बेला यो विस्फोटन भएको छ । यसमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको छ । आन्दोलन सफल भएको छ । हामीले आन्दोलनमा खासगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, युवापुस्ताको नेतृत्व र सामाजिक सञ्जाललाई निष्क्रिय बनाइएकामा त्यो हटाइनुपर्छ भन्ने मुख्य मुद्दा थिए ।

अर्कातर्फ, आन्दोलनमा ठूलो जनधनको क्षति दुर्भाग्यपूर्ण स्थिति भयो । युवाको शान्तिपूर्ण प्रदर्शनीमा ताकीताकी गोली हान्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्छ । कारबाही गरिनुपर्छ । घाइते र सहिद परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्कसहित उचित राहत प्रदान गरिनुपर्छ । घाइतेलाई रोजगारी दिलाउनुपर्छ । युवापुस्ताको माग र मुद्दाअनुरूप शासकीय स्वरूपको परिवर्तनसम्मका विषयलाई सम्बोधन हुनुपर्छ । अनावश्यक संरचनाको खारेजी हुनुपर्छ । जनताले नै आफ्नो कार्यकारी छनोट गर्न पाउने व्यवस्था हुनुपर्छ ।

वि.सं. २०४६ पछि माथिल्लो तहमा रहेका राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति आर्जन गर्नेको राष्ट्रीयकरण गरिनुपर्छ । त्यसका लागि वर्तमान संविधानलाई पनि समयसापेक्ष संशोधन गरिनुपर्छ । युवाको बलिदानबाट बनेको सरकार भएकाले युवापुस्ताले उठाएका माग सम्बोधन हुनुपर्छ ।

प्रतिक्रिया