फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन (ललितपुर) । ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो ।
कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् । फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उनले बताए ।
विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ ।
कारागारले यस कार्यमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ । -रासस

प्रतिक्रिया