दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

दमक (झापा) । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् ।
आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरूलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले बताए । प्रहरीहरूलाई कोसी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।
जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरूमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरू समेत लुटिएको थियो । लुटिएका हतियार लगायत सामानहरू अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरू सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
आगजनीपछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अर्गानिक सब्जी मन्डीको भवनमा अस्थायीरूपमा सरेका थिए । इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य संघ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो ।
ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरूप प्राप्त भएको थियो । प्रहरी पुनःस्थापित भएपछि यहाँको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाईंले बताए ।
क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य संघले पाँच लाख, दमक नगर इसाई समाजले दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार, जिल्लामा विस्थापित प्रहरी कार्यालयहरू स्थानीयहरूको सहयोगमा धमाधम पुनःस्थापित हुँदै छन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए । रासस

प्रतिक्रिया