बुधबार, पुष ९, २०८२

सिरियामा संक्रमणकालीन संसद् सदस्यको निर्वाचन गरिँदै

नेपालखोज २०८२ असोज १९ गते २०:४२

दमास्कस, सिरिया । सिरियाका स्थानीय समितिका सदस्यहरूले आइतबारदेखि संक्रमणकालीन संसद्का सदस्यहरू छनौट प्रक्रियालाई अगाडि बढाएका छन् । विपक्षीहरूले यस प्रक्रियालाई अलोकतान्त्रिक भनेर आलोचना गरेका छन् । प्रक्रियाअन्तर्गत संसद्का एक तिहाइ सदस्यहरू अन्तरिम नेता अहमद अल–शाराले प्रत्यक्ष रूपमा नियुक्त गर्ने तयारी गरिएको छ ।

संसद्को गठनले इस्लामिक शक्तिले गठबन्धनको नेतृत्व गरेको शाराको शक्तिलाई सुदृढ पार्ने तयारी गरेको देखिएको छ । गठबन्धनले लामो समयदेखि शासन गरेका पूर्व राष्ट्रपति बशर अल–असदलाई १३ वर्षभन्दा बढी लामो गृहयुद्धपछि डिसेम्बरमा अपदस्थ गरेको थियो।

आयोजक समितिका अनुसार, एक हजार ५०० भन्दा बढी उम्मेदवारहरूमध्ये केवल १४ प्रतिशत महिला रहेको विधानसभाको संक्रमणकालीन छनौट प्रक्रियामा प्रतिस्पर्धा गरिरहेका छन् । यो निर्वाचनबाट चयन भएका संसद् सदस्यको ३० महिनाको नयाँ जनादेश हुनेछ। शाराले २१० सदस्यीय निकायमा ७० जना प्रतिनिधिलाई राष्ट्रपतीय अधिकारको प्रयोग गरी नियुक्त गर्नेछन् ।

अन्य दुई–तिहाई सदस्यलाई शाराले नै नियुक्त गरेको निर्वाचन आयोगको नेतृत्वले नियुक्त गरेका स्थानीय समितिहरूले चयन गर्नेछन् ।

जुलाईमा साम्प्रदायिक रक्तपातको शिकार भएको दक्षिणी सिरियाको द«ुज बहुल स्वेडा प्रान्त र देशको कुर्दहरूको नियन्त्रणमा रहेको उत्तरपूर्वलाई अहिलेका लागि प्रक्रियाबाट बाहिर राखिएको छ । यो क्षेत्र दमास्कसको अहिलेको नेतृत्वको नियन्त्रणभन्दा बाहिर छ र त्यहाँबाट ३२ सदस्य चयन हुनुपर्नेछ ।

दमास्कसको एक क्याफेमा साथीहरूसँग बसिरहेका ७७ वर्षीय सेवानिवृत्त निजामती कर्मचारी लुए अल–अर्फीले निर्वाचन प्रक्रियाबारे भने, म अधिकारीहरूलाई समर्थन गर्दछु र म उनीहरूको बचाउ गर्न तयार छु तर यो वास्तविक चुनाव भने होइन।

उनले एएफपीसँग भने, संक्रमणकालीन चरणमा यो आवश्यक छ, तर हामी छिट्टै प्रत्यक्ष निर्वाचन चाहन्छौँ ।

नयाँ अधिकारीहरूले पूर्व राष्ट्रपतिलाई सत्ताच्युत गर्दै सत्ताको बागडोर हातमा लिएपछि सिरियाको तत्कालिन विधायिका भङ्ग भएको थियो । उक्त विधायिकालाई तत्कालिन राष्ट्रपतिले औपचारिकताका लागि प्रयोग गर्दै आएपनि उक्त निकायले स्वतन्त्ररूपमा काम गर्न सकेको थिएन ।

मार्चमा घोषणा गरिएको अस्थायी संविधान अन्तर्गत, आगामी संसदले स्थायी संविधान पारित नभएसम्म र नयाँ निर्वाचन नभएसम्म विधायिकीको कार्य गर्नेछ।

लाखौँ मानिसहरू विदेश भागेका वा गृहयुद्धका क्रममा आन्तरिक रूपमा विस्थापित भएपछि कागजात नभएका सिरियालीहरूको ठूलो सङ्ख्यालाई ध्यानमा राख्दै शाराले अहिले प्रत्यक्ष चुनाव आयोजना गर्न असम्भव भएकोले अस्थायी संसद्को चयन हुन लागेको बताएका छन् ।

प्रतिक्रिया