मंगलबार, पुष १, २०८२

कास्की कारागारका दुई सय ९० कैदीबन्दी अझै फरार

नेपालखोज २०८२ असोज २१ गते १९:३४

कास्की । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीको बन्दीगृहबाट भागेकामध्ये २९० जना कैदीबन्दी अझै फरार रहेका छन् ।

कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिए । उनले भने, प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेकामध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् । केहीलाई भने भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाहरूको बारेमा अब कसरी अगाडि बढ्ने भन्ने विभागको निर्देशनको पर्खाइमा छौँ ।

कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले गत असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म कारागार फर्कन समय दिइएको थियो । तर तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको बताइन्छ ।

उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।

प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । तर कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा सुरक्षित रहेको छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताए । प्रदर्शनकारीले गत भदौ २४ गते कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।

प्रतिक्रिया