हमास आक्रमणको दुई वर्ष पूरा, बन्धकको रिहाई र युद्धविराम निर्विकल्प शर्त भएको विश्व नेताहरूको भनाइ

पेरिस । प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । इजरायलमा भएको हमास आक्रमणमा विभिन्न मुलुकका नागरिकसहित एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । बदलामा इजरायलले चलाएको हमासविरोधी अभियानमा कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
इजरायल र हमासबीचको लडाईमा अत्यधिक सर्वसाधारणको मृत्यु भएपछि विश्व नेताहरूले मङ्गलबार हमासलाई इजरायली बन्धकहरूलाई रिहा गर्न आग्रह गरेका छन् भने इजरायललाई आक्रमण रोक्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बन्धकलाई तुरुन्त रिहा गर्न आफूले यसअघि गरेको अपिल दोहोर्याएको छ । सबैका लागि पीडा अन्त्य गर्नुहोस् ।
गाजा, इजरायल र यस क्षेत्रमा अहिले शत्रुताको अन्त्य गर्नुहोस्। नागरिकहरूलाई उनीहरूको जीवन र सुन्दर भविष्यको साथ दिन विताउन वातावरण सुनिश्चित गराउनुहोस् । दुई वर्षको आघात पछि अब हामीले आशा रोज्नु पर्छ, उनले भने। इजरायलको विदेश मन्त्रालयले भनेको छ, दुई वर्ष पहिले आजकै दिन (अक्टुबर ७) मा इजरायलले आफ्नो इतिहासको सबैभन्दा कालो दिनको सामना गरेको थियो ।
हामी गाजामा अझै पनि बन्धकहरूको फिर्तीको लागि प्रार्थना गर्दछौँ र हामी आतङ्कवादको बिरूद्ध एकजुट छौँ। यो युद्ध अन्त्य गर्न हमासलाई ध्वस्त पार्नुपर्छ,। त्यसपछिमात्र अँध्यारोमाथि ज्योति छाउनेछ, इजरायली विदेश मन्त्रालयले एक्समा भनेको छ। हमासले अक्टोबर ७ को आक्रमण प्यालेस्टाइनी जनताविरुद्ध इजरायलले गरेको कदमको ‘ऐतिहासिक प्रतिक्रिया’ भएको बताएको छ। हामी पुष्टि गर्नेछौँ, अक्टोबर ७ मा अल–अक्सामा भएको सशस्त्र प्रतिकार प्यालेस्टिनी मुद्दालाई निर्मूल पार्ने इजरायलको प्रयासविरूद्धको एक ऐतिहासिक प्रतिक्रिया थियो, हमासका एक वरिष्ठ अधिकारी फावजी बरहौमले टेलिभिजन सम्बोधनमा भनेका छन्।
प्यालेस्टाइन क्षेत्रमा इजरायलको आक्रमणको युरोपमा सबैभन्दा मुखर आलोचक मध्ये एक स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हमासको आक्रमणको निन्दा गरे। साथै, उनले ‘प्यालेस्टिनी जनताको नरसंहार’ अन्त्य गर्न इजरायलसँग माग गरे । यो सबै प्रकारका आतङ्कवादको कडा निन्दा दोहोर्याउने दिन हो, इजरायली बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान गर्ने दिन हो, समाजवादी नेता साञ्चेजले एक्समा जारी एक सन्देशमा लेखेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी जनताको नरसंहार रोक्न र मानवीय कोरिडोर खोल्न पनि उनले माग गरे ।








प्रतिक्रिया