क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

नेपालखोज २०८२ असोज २२ गते १०:२४

काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताउनुभएको छ ।

यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरिएको उनले बताएका छन् ।
हालैको बाढीबाट मेची राजमार्गमा अधिक क्षति भएको छ । यो राजमार्गको पुनर्निर्माणका लागि एक अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।

त्यसैगरी, क्षतिग्रस्त कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायत राजमार्ग पुनःनिर्माण गर्न रु तीन अर्ब ७७ करोड लाग्ने सरकारको अनुमान छ ।

मन्त्री घिसिरङको निजी सचिवालयका अनुसार क्षति भएका १७ वटा पुल पुन:निर्माण गर्न रु चार अर्ब ५२ करोड, बेलिब्रिज जडान गर्न ८० करोड तथा वैकल्पिक सडक मर्मतसम्भार गर्न एक अर्ब ५९ करोड लाग्ने अनुमान सरकारले गरेकोे छ ।

प्रतिक्रिया