विश्व हुलाक दिवश

सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक सङ्घको स्थापना भएको थियो । सन् १९६९ मा जापानको टोकियोमा भएको भेलाले यसै दिनलाई विश्व हुलाक दिवसको रूपमा मनाउने निर्णय गर्यो ।
नेपालमा बि.सं. १९३५ मा अर्थात् विश्व हुलाक सङ्घ स्थापनाको चार वर्ष पछि राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा नेपाल हुलाक घरको स्थापना गराई हुलाकको सुरुवात भए पनि हुलाक टिकटको प्रचलन भएको थिएन । सो समयमा नगद नै तिर्नु पर्ने व्यवस्था गराइएको थियो । पछि वि.सं. १९३८ मा जङ्गबहादुरले बेलायतबाट ल्याएको गिद्ध प्रेसमा बेलायतबाट नै ल्याएको कागजमा एक, दुई र चार आनाको श्री गोरखा सरकार लेखिएको हुलाक टिकट छापिएको थियो ।
पछि वि.सं. १९४३ मा सोही टिकट सोही गिद्ध प्रेसमा नेपाली कागजमा छापिएको थियो । यसै वर्षबाट दुई पैसा मूल्यको पोस्ट कार्डको थालनी पनि भयो । हुन त नेपालमा कागते हुलाकीका रूपमा राजा रणबहादुर शाहको शासनकालमा वि.सं. १८३४ मा नै सुरुवात भइसकेको थियो । जसले सरकारी कागतपत्रहरु ओसारपसार गर्दथे । यसको लगत्तै थाप्लेहुलाकीहरुको पनि व्यवस्था गरिएको थियो । जसले सरकारी जिन्सी सामान, हातहतियार, गोला बारुद तथा बिरामी समेत बोकेर एक ठाउँबाट अर्को ठाउँ लैजानु पर्ने हुन्थ्यो ।
जसका लागि हुलाकीहरूको व्यवस्था गरिएका हुन्थे । ती कागते हुलाकी तथा थाप्लेहुलाकीहरु पैदल हिँड्ने हुँदा कुनै रोकटोक नहोस् भनेर घण्टी भएका लट्ठी बोकेका हुन्थे । टाढैबाट हुलाकी घण्टीको आवाज सुनेपछि बाटो खाली बनाइदिनु पर्दथ्यो । टाढाको यात्रामा जाँदा हुलाकीहरूको झोला वा बोरा बिच बिचमा हुने हुलाकी चौतारामा बसेर साटफेर गर्दथे । अर्को हुलाकीले बोकेर ल्याएको सामग्री बोकेर पुन फर्कन्थे ।
पोखरा बजारको सुरुवात पनि यिनै थाप्लेहुलाकीहरुको बसोबास गर्ने थातथलोबाट नै सुरु भएको हो । मुख्तियार भीमसेन थापाको शासनकालमा पोखरा बजारमा २६ नेवार थाप्लेहुलाकीहरुका लागि बस्ने व्यवस्था मिलाइएको थियो । जसका लागि बस्ने घर घडेरी र खेतीपातीका लागि हुलाकी खेतको समेत व्यवस्था गरिएको थियो । यी नै २६ नेवार परिवार बस्ने ठाउँलाई छब्बीस कुरिया भनिन्थ्यो । जुन पछि पोखरा बजारको मुख्य क्षेत्र बन्यो ।
यसरी सुरुवात भएको हुलाक सेवा पछि राणा श्री ३ रण द्वीपको शासनकालमा हुलाक घरको स्थापना पछि व्यापक बनाइएको थियो । नेपालमा हुलाक सेवाको सुरुवात तथा बिस्तार भए पनि विश्व हुलाक सङ्घको सदस्यता भने धेरै पछि वि.सं. २०१३ असोज २६ गते मात्र पाउन सफल भएको थियो । तर यसको कार्यान्वयन भने २०१६ वैशाख १ गते देखि मात्र लागु भयो ।
सुरुमा मात्र ४३ वटा हुलाक घरबाट काम थालेको हुलाक सेवाको हाल देशभर करिब ४००० कार्यालय भएको छ । सुस्त र ढिलो पत्र पुग्ने समस्याबाट उन्मुक्ति दिन हुलाक विभागले २०४६ सालमा देश भित्र द्रुत डाँक सेवाको सुरुवात गर्यो भने अन्तर्राष्ट्रिय द्रुत डाँक सेवाको सुरुवात भने २०५२ सालमा गर्न थाल्यो ।
नेपालको हुलाक सेवा घाटामा चल्न थालेको धेरै वर्ष भयो । हुलाकको आम्दानी कुल खर्चको केवल १३ प्रतिशत मात्र हुने गर्दछ । अर्थात् ८७ प्रतिशत घाटामा चलिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालको व्यापकता हुन थाले पछि हुलाक सेवाको प्रयोग सरकारी कामकाजमा मात्र सीमित हुन पुगेको छ । हेरौँ त्यो बेलाका हुलाक कार्यालयहरू, हुलाकी र हुलाक बाकसहरू

प्रतिक्रिया