पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ ।
चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ । पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन ।
यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउछन् । ‘हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौं,’ सिंहले भने, ‘तीन लाख लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो ।’ उनले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताए ।
सुरुवातका वर्षहरुभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उनले बताए । सिंह परिवारको पुख्र्यौली पेशा नै कपडा बुन्ने हो । दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने उनीहरु २०४४ सालमा तराई बसाइ सर्नुभयो । त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उनको भनाइ छ ।
घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उनी बताउछन् । ‘अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगर मात्रै छन्’, उनले भने, ‘देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ ।’
उनले आफुले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताए । केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उनको भनाइ छ । कपडाभन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंह बताउछन् ।
प्राकृतिक फाइबरबाट निर्मित कपडा शरिरका लागि निकै फाइदाजनक मानिन्छ । यसको निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ ।
त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया