एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारीखेती

नेपालखोज २०८२ असोज २४ गते ६:१५

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्नुभएको छ । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अग्र्यानिक तरकारीखेतीमा लागेका हुन् ।

राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अग्र्यानिक विधिबाट उत्पादन गर्दै आएका छन् । गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गरिक मल प्रयोग गरी पूर्णतया अग्र्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

व्यावसायिक रूपमा अग्र्यानिक तरकारी उत्पादन गर्दै आएकी छु, उनले भने, यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । घरखर्च चलाउन समस्या छैन, अब अझै विस्तार गर्ने योजनासहित काम गरिरहेको छु ।

उनले शिक्षण पेसा छाडेर खेतीमा लागेको कारणबारे बताउँदै भने, कृषि कर्ममा मेहेनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । तर हामी व्यावसायिक बन्न सक्नुपर्छ । राज्यका तर्फबाट आवश्यक सहयोग र बजार व्यवस्थापन भए अझ धेरै किसानलाई राहत पुग्छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तय गरेको बताए । कृषि र पर्यटनको राम्रो सम्भवाना छ, उपाध्यक्ष राईले भने, किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।

वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरीपालन, जडीबुटीखेती, सुन्तला र कागतीखेतीमा व्यावसायिक बन्न सहयोग गरिएको बताए । हाम्रो वडामा तरकारीखेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ, वडाध्यक्ष राईले भने, नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त भएकाले मौरीपालक किसानलाई प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । टेम्केमैयुङमा धेरै उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

प्रतिक्रिया