रुसको ‘ठूलो आक्रमण’ पछि किएभ अन्धकारमा, पानी र बिजुली आपूर्ति बन्द

काठमाडाैं । युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ ।
उक्त आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ । सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
क्रेमलिनले हालका हप्ताहरूमा युक्रेनका ऊर्जा पूर्वाधार र रेल प्रणालीहरूलाई निरन्तर निशाना बनाइरहेको छ, जसले अघिल्ला तीन जाडोयाममा भएका समान आक्रमणहरूको पुनरावृत्ति झल्काएको छ । ती अभियानहरूले युक्रेनी नागरिकहरूलाई चिसो मौसममा तताउने साधनविहीन बनाएको थियो ।
शुक्रबार बिहान किएभमा एएफपीका पत्रकारहरूले शक्तिशाली विस्फोटहरूको आवाज सुने र सहरका विभिन्न क्षेत्रमा व्यापक रूपमा बिजुली कटौती भएको पुष्टि गरे ।
“राजधानी अहिले शत्रुको ब्यालेस्टिक मिसाइल र आक्रमणकारी ड्रोनहरूको ठूलो हमलाको अधीनमा छ”, वायु सेनाले विज्ञप्तिमा उल्लेख गर्दै जनतालाई तत्काल आश्रय लिन आग्रह गरेको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रुसी सेनाले ‘महत्त्वपूर्ण पूर्वाधार’ मा लक्षित गरेको छ । प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा नौ जना घाइते भएका छन्, जसमा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ ।
‘राजधानीको लेफ्ट बैंक बिजुलीविहीन भएको छ, पानी आपूर्तिमा पनि समस्या आएको छ’, उनले टेलिग्राममार्फत जानकारी दिए ।
युक्रेनी ऊर्जामन्त्री स्विटलाना ग्रिन्चुकले पनि आक्रमणलाई ‘ग्रिडमाथि गरिएको ठूलो हमला’ भन्दै ऊर्जा क्षेत्रका प्राविधिकहरू नकारात्मक प्रभाव घटाउन निरन्तर प्रयासरत रहेको बताए । उनका अनुसार सुरक्षा अवस्थाले अनुमति दिए लगत्तै, क्षतिको मूल्याङ्कन र मर्मत कार्य सुरु गरिनेछ ।
रुसले हाइपरसोनिक ‘किन्जाल’ मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएकाले युक्रेनले शुक्रबार देशव्यापी सतर्कता जारी गरेको छ । उक्त मिसाइल पत्ता लगाउन र रोक्न अत्यन्त कठिन मानिन्छ ।

प्रतिक्रिया