तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री

नेपालखोज २०८२ असोज २५ गते २०:१८

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेकाे छ । विगतमा तिहारलाई लक्षित गरी उनले सयपत्री फूल बिक्री गर्थे, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री गर्थे ।

बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए ।

पछिल्लो समय तिहारमा सयपत्री फूल खरिद गर्नुभन्दा बिरुवा खरिद गरेर घरमा सजाउने र तिहारमा प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बोहोराले बताए । उनले ४० मा माटोसहितको फूलको बिरुवा बिक्री गरेको उनले बताए ।

भारतको नयाँ दिल्लीमा ‘बिएसी बोट्नी’ विषयमा अध्ययन गरेर जन्मथलो फर्केर पुष्प व्यवसाय गरिरहेका बोहोराले वर्षमा १५ लाखसम्म फूलको कारोबार गर्ने गरेको सुनाए । साबिकको धौलागिरि अञ्चलमा व्यावसायिक पुष्पखेतीको अभाव रहेको र बजार विस्तारको राम्रो सम्भावना देखेपछि आफ्नै घरबाट थालेको पुष्प व्यवसायलाई साढे चार रोपनी क्षेत्रफलमा विस्तार गरिसकेको उनले जानकारी दिए ।

बोहोराले मौसमी मात्रै नभएर बेमौसमी फूलको समेत कारोबार गर्दै आएका छन् । उनले फूल बिक्रीबाटै तिहारबाहेक मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानीसमेत गर्दै आएको सुनाए ।

उनको नर्सरीमा सयपत्री, मौसमी, बहुवर्षीय र टिस्यु कल्चर गरिएका सजावटका फूलहरू पनि छन् । यस्तै, मेवा, आँप, अम्बा, किबी, चेरी, एभोकाडो र आरुका उन्नत जातका बिरुवाहरूसमेत उत्पादन र बिक्री भइरहेका छन् ।

प्रतिक्रिया