झापामा बाढीको कहर : चार करोड बराबरको क्षति

बनियानी (झापा) । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए ।
‘प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ’, उनले भने, ‘सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनिसकिएको छ ।” अविरल वर्षापछिको बाढीले जिल्लामा करिब चार हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै तीन हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उनले बताए ।
गत २३ गतेयता झापा गाउँपालिका वडा नं १ र २ का करिब एक हजार ७०० बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उनले बताए । बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधारलगायत क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजिअ प्रसाईँले बताए ।
पानीजन्य रोग नियन्त्रणका लागि पानी निर्मलीकरण गर्ने, शुद्ध खानेपानीको ट्याङ्की राख्ने काम भइरहेको जनाइएको छ । राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन् । करिब चार हजार परिवारलाई वितरण गर्न सकिनेगरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजिअ प्रसाईँले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले दुई हजार परिवारलाई राहत दिन पुग्नेगरी करिब रु ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताए ।
बाढीपीडितलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल एक बोरा, तेल एक लिटर, नुन दुई केजी, आलु पाँच केजी, दाल दुई केजी, पानी एक कार्टुन, म्याट दुई थान र कम्बल दुई थान वितरण गरिँदै आएको छ । कनकाईमा चार करोडको क्षति यसैबीच, गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगरक्षेत्रमा करिब रु चार करोडबराबरको क्षति भएको छ ।
नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरक्षेत्रमा बाढीका कारण करिब रु चार करोडबराबरको क्षति भएको जानकारी दिए । कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छभने करिब आठ सय मिटर सडकमा क्षति पुर्याएको छ ।
विभिन्न सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा राहत वितरणको काम भइरहेको बताउनुहुँदै उहाँले तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर राहतका कार्यक्रम ल्याइने बताउनुभयो । –––

प्रतिक्रिया