‘गलत र मिथ्या सूचनाको प्रवाहबारे सबै सचेत बनौँ’

नेपालखोज २०८२ असोज २६ गते १७:४५

काठमाडौं । ‘जेनजी’ आन्दोलनमा ‘डिजिटल प्लेटफर्म’मार्फत भइरहेका गलत र मिथ्या सूचना प्रवाहबारे सबै सचेत हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

नेपाल एफएम नेटवर्कको आयोजनामा आज यहाँ भएको ‘भ्रामक र मिथ्या सूचनाको चुनौती : लोकतन्त्र, नागरिक अधिकार र युवा समुदायमा पार्ने प्रभाव, जोखिम र यसका असर’ विषयक छलफलमा सरोकार भएकाहरूले सूचना प्रवाहलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत सूचना फैलाउँदा धेरै भयावहको स्थिति उत्पन्न भएको बताए । राष्ट्रियसभा सदस्य गङ्गा बेलबासेले समयमै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक नल्याउँदा प्रदर्शनका क्रममा भ्रम फैलाउन सहयोगी अवस्था बनेको धारणा राखे ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले मिथ्या सूचनालाईं बढावा दिने गतिविधिलाई समयमै नियमन गर्न आवश्यक रहेको धारणा राखे । डिजिटल मिडियाविज्ञ प्रवेश सुवेदीले सूचनाको गलत बुझाइ र दुरुपयोगले सानो घटनाले पनि ठूलो रूप लिइरहेको बताए । सङ्कटका बेला सूचनाको दुरुपयोग गर्ने समूह बढ्ने भएकाले सूचनाको सहि र पारदर्शी सम्प्रेषण गरिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा पत्रकार गोविन्द खड्काले मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया