देखतभूलीमा घरमै सुत्केरी हुने शून्य

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ । सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन् ।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ । स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार बर्थिङ सेन्टरमा हरेक दिन चौबिसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
उनले भने, ‘दुर्गम र सीमावर्ती क्षेत्र भएकाले महिलालाई टाढा अस्पताल लैजान कठिन हुने हुँदा यहाँका गर्भवती महिलाले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन् ।’ चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पालै–पालो खटाइने भएकाले चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने उहाँको भनाइ छ । लालझाडी गाउँपालिका मात्र नभइ शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका गर्भवती सुरक्षित सुत्केरी सेवाका लागि देखतभूली स्वास्थ्य चौकीमा आउने गरेका छन् ।
स्वास्थ्य चौकीको वार्षिक तथ्याङ्कअनुसार चालु आवको हालसम्म एक सय ३० भन्दा बढी महिलाले सुरक्षित प्रसूतिसेवा केन्द्रमार्फत लिएका छन् । मातृ तथा शिशु मृत्यु दर शून्य रहेको यस क्षेत्रमा घरमै सुत्केरी हुने कार्य पूर्णरूपमा अन्त्य भएको प्रमुख झाले जानकारी दिए ।
उनका अनुसार प्रसूति सेवा नियमित र गुणस्तरीय भएको कारण महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने प्रवृत्तिमा जोड दिइरहेका छन् । यसले सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा पनि सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
उनका अनुसार बर्थिङ सेन्टरमार्फत जन्मिने शिशुमध्ये बालिकाको सङ्ख्या बालकको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ । यसले महिलामाथिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि सङ्केत गर्छ ।
स्थानीय महिलाले सेवा पाउँदा राहत महसुस गरेको बताउँदै देखतभूलीका बन्तो रानाले भने ‘पहिले बर्थिङ सेन्टर नहुँदा धेरै जनाले जोखिम मोल्दै असुरक्षित तरिकाले घरमै सुत्केरी हुन्थ्ये, केही टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो, अहिले घर नजिकै सुरक्षित प्रसूति सेवा पाइन थालेपछि निकै सहज भएको छ ।’
लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखतभूली स्वास्थ्य चौकी उदाहरणीय बनेको छ । मातृ तथा शिशु मृत्यु दर शून्य, घरमै सुत्केरी हुने प्रथा समाप्त र २४ घण्टे सेवा निरन्तर सञ्चालन हुनु यस क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ । -रासस

प्रतिक्रिया