केरा बिक्री नहुँदा किसान मर्कामा

नेपालखोज २०८२ असोज २७ गते ११:३३

घोराही (दाङ) । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुगेका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुआतमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए ।

बजारमा दर्जनलाई रु १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । यो साल केरा बिक्री नहुँदा कारोबार घरेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ, उनले भने । थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए ।

उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनको भनाइ छ । उनले गएका वर्षहरुमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल भने तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार रहेको बताए ।

राप्ती केरा प्रवद्र्धन कृषक समूहका अध्यक्ष समेत रहेका सुवेदीले अघिल्ला वर्षहरुमा रु सवा करोडसम्मको कारोबार गर्ने र जसबाट ३० लाखसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको उनले बताए । राप्ती केरा प्रवद्र्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध छन् । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा १० लाख कम आम्दानी हुने उनको आकलन रहेको छ ।

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताए ।

उनले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले सुनाए । भारतीय बजारबाट दाङका बजारमा दिनहुँ सस्तो मूल्यमा केरा भित्रिएपछि यहाँ उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया