बुधबार, पुष ९, २०८२

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

नेपालखोज २०८२ असोज २८ गते १६:५६

सियोल । नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ३३० जना दक्षिण कोरियाली नागरिक कम्बोडिया पुगेका थिए । तीमध्ये केही व्यक्ति बेपत्ता भएका वा आफ्नै इच्छा विरुद्धमा राखिएको रिपोर्ट गरिएको छ । तीमध्ये हालसम्म करिब ८० जनाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले घटनासँग सम्बन्धित तथ्याङ्कहरू दोहोरो नहोस् भनेर गृह मन्त्रालय र प्रहरी डाटासँग क्रस–जाँच भइरहेको पनि जनाएको छ ।

सन् २०२३ मा कम्बोडियामा दक्षिण कोरियालीहरू संलग्न अपहरण वा अवैध हिरासतका करिब २१ घटना दर्ता भएका थिए । तर गत वर्ष यो सङ्ख्या तीव्र गतिमा बढ्दै २२१ पुगेको र यो वर्षको अगस्टसम्म १५ गुणासम्म वृद्धि भएको सांसद युन हु–डुकले संसदीय सुनुवाइमा बताए ।

हालै कम्बोडियामा एक दक्षिण कोरियाली कलेज विद्यार्थीको मृत्युको घटनाले दक्षिण कोरियाली समाजलाई गहिरो आघात पुर्‍याएको छ । ती विद्यार्थीको मृत्यु स्थानीय अपराधी समूहद्वारा अपहरण र यातना पश्चात् भएको बताइएको छ ।

सरकारका अनुसार धेरै दक्षिण कोरियाली नागरिकहरू उच्च तलबको प्रलोभनमा परेर कपटपूर्ण रोजगारी प्रस्तावमा फसेका छन् ।

राष्ट्रपति ली जे म्युङले मङ्गलबार मन्त्रिपरिषद्को बैठकमा कम्बोडियामा भएका हालका अपहरण घटनाले ‘दक्षिण कोरियालीहरूलाई गम्भीर क्षति पुगेको’ बताउँदै ती घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे ।

यो सङ्ख्या सानो छैन । हाम्रा नागरिकहरू आफ्ना परिवारका सदस्य, साथी तथा छिमेकीहरू बेपत्ता भएकोमा अत्यन्त चिन्तित छन्, उनले भने, सरकारले हाम्रा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै उपलब्ध उपाय तुरुन्तै लागू गर्नुपर्छ ।

राष्ट्रपति कार्यालयले दोस्रो उप–विदेशमन्त्रीको नेतृत्वमा संयुक्त प्रतिक्रिया टोली बुधबार कम्बोडिया पठाउने तयारी भएको जनाएको छ । साथै, राष्ट्रपतिका प्रवक्ता किम नाम–जुनका अनुसार सरकारले कम्बोडियाको यात्रा सल्लाह स्तर बढाउने विषयमा पनि विचार गरिरहेको छ ।

प्रतिक्रिया