खेवाङले दिए गाउँलेलाई ‘भ्यू-टावर’ उपहार

नेपालखोज २०८२ असोज २९ गते ५:३१

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त भएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू-भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू-टावर निर्माण गरेका हुन् । व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू-टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गरे ।

खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका-६ को कार्यालय र स्थानीयवासीले भ्यू-टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए ।

खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक-६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले वताए ।

खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले वताए । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताए ।

प्रतिक्रिया