किसानलाई धान काट्ने चटारो

दाङ । लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।’
चौधरीले भनिन्, ‘देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने र छिट्टै पाक्दा दसैँलगत्तै धान काट्न तथा काटेको धान सुकाएर दाइँ गर्न थालिसकेका छौँ ।’ दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन् । अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको उनीहरुको भनाइ छ ।
धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन् । वर्षा भए पनि बाढी नआएकाले ठूलो नोक्सानी व्यहोर्नु नपरेको चौधरी बताउँछिन् । ‘अहिले त्यस्तै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ’, उनले भनिन् ।
सीतामात्र होइन अहिले देउखुरी क्षेत्रका अधिकांश किसान बिहानैदेखि बेलुकासम्म धान काट्न तथा बाली भित्र्याउन व्यस्त देखिन्छन् । तिहारको समय नजिकै आइरहँदा किसानलाई धान काट्न चटारो छ । उनीहरूले काटेको धान चाँडै भित्र्याउनका लागि खेतसँगैका सडक किनारामा सुकाउन थालेका छन् ।

प्रतिक्रिया