धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

नेपालखोज २०८२ असोज २९ गते ९:१५

ढोरपाटन (बागलुङ) । बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् ।

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताए । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उनको भनाइ छ ।

जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ६ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् ।

आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानको भनाइ छ । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उनी बताउछन् । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको किसानले बताए ।

तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताए । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताए ।

त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकीय गन्तव्य बनेको छ । अन्य तालका तुलनामा यसमा पानी अलि बढी छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् ।

बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् । तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

प्रतिक्रिया