जेन-जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

नेपालखोज २०८२ असोज ३१ गते १६:३७

काठमाडाैं । पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन-जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गरेका छन् ।

अधिकारीहरूका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन् । प्रहरीले प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र एक प्रदर्शनकारीको हत्याको अनुसन्धान गरिरहेको जनाएको छ ।

‘मेरो कर्तव्य देशको स्थिरता कायम राख्नु होस यो मेरो जिम्मेवारी र प्रतिबद्धता हो’, राष्ट्रपतिले पेरुको संसद् भ्रमणपछि स्थानीय सञ्चारमाध्यमसँग भने । उनले अपराध नियन्त्रणका लागि संसद्सँग थप अधिकार माग्ने तयारीमा रहेको पनि बताए ।

युवाहरूका लागि राम्रो पेन्सन र तलबको माग गर्दै सुरु भएको विरोध प्रदर्शनले पछिल्लो एक महिनामा भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभङ्गबाट थकित पेरुवासीहरूको आक्रोशको रूप लिँदै गएको छ ।

अक्टोबर १० मा पदभार ग्रहण गरेका जेरी हालका सातौँ राष्ट्रपति छन् । उनीलाई प्रदर्शनकारीहरूले तत्काल राजीनामा दिन र संसद् विघटन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया