नागरिक समूहको अध्यक्षमा दाहाल

नेपालखोज २०८२ कार्तिक १ गते १८:४९

काठमाडौं । सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन भएका छन् । समूहको आज यहाँ सम्पन्न साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो ।

विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने घोषणा गरेको छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताए । उनले नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गरे ।

सभामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । वक्ताहरूले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै यसको उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको बताए ।

प्रतिक्रिया