धनको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

नेपालखोज २०८२ कार्तिक १ गते १९:२५

सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी-व्यवसायीलाई अनुरोध गरेको छ ।

धानको उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न गराउन आग्रह गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले प्रतिक्विन्टल मोटा धान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ न्यूनतम समर्थन मूल्य तोकेको कार्यालयको सूचनामा उल्लेख छ ।

सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य पाउन सकेका छैनन् । कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेका कारण किसानले उचित मूल्य नपाइरहेको बताए ।

यहाँका किसानको मुख्य आम्दानी स्रोत धानबाली हो । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् ।

प्रतिक्रिया