लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

नेपालखोज २०८२ कार्तिक २ गते १०:४०

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ ।

गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, ‘निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।’

सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए । निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ ।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए । उनले भने, अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।

त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ ।

सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छभने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया