अमेरिकाभर ‘नो किङ्ग्स’ र्याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ ।
सबै ५० अमेरिकी राज्यका सहर-सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । फ्लोरिडास्थित ट्रम्पको निवास नजिक र अमेरिकी हार्टल्यान्डका साना सहरहरूमा समेत विरोध प्रदर्शन भएका थिए ।
वासिङ्टनस्थित अमेरिकी क्यापिटल नजिकै हजारौँ प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तो देखिन्छ १’ भन्ने नारा लगाउँदै सरकारको दीर्घकालीन बन्द (शटडाउन) विरुद्ध पनि आक्रोश प्रकट गरेका थिए । रङ्गीन पोस्टरहरूमा ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देश झल्किन्थ्यो भने कतिपयले आप्रवासीमाथि दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन ९आइसिई० निकायको अन्त्य गर्न माग गरेका थिए ।
न्युयोर्ककी ६९ वर्षीया सेवानिवृत्त कोलिन हफम्यानले आँसु झर्दै भने, ‘लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट हेर्नुपर्ने दिन आउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । हामी अहिले सङ्कटमा छौँ-यो शासनको क्रूरता र अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ ।’
लस एन्जलसमा प्रदर्शनकारीहरूले डाइपर लगाएको ट्रम्पको विशाल बेलुन आकाशमा उडाए । कतिपयले हालैका विश्वव्यापी विरोधहरूमा प्रचलित ‘खोपडी लोगो’ अङ्कित झण्डा फहराएका थिए । ह्युस्टनमा ‘अज्ञानताविरुद्ध लडौँ, आप्रवासीविरुद्ध होइनौँ’ भन्ने सन्देशले नागरिकको ध्यान खिचेको थियो ।
प्रदर्शन अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि लस एन्जलसको डाउनटाउनमा केही भिड नियन्त्रणका क्रममा प्रहरीले गैरघातक गोली र अश्रुग्याँस प्रयोग गरेको लस एन्जलस टाइम्सले जनाएको छ । लस एन्जलस प्रहरीले ‘कानूनी आदेशपछि प्रदर्शनकारीहरूलाई तितरबितर गरियो’ भने पनि गिरफ्तारीबारे विवरण सार्वजनिक गरिएको थिएन ।
न्युयोर्कमा करिब एक लाखभन्दा बढी र वासिङ्टनमा आठदेखि १० हजारसम्म प्रदर्शनकारीको भीड अनुमान गरिएको थियो । आयोजकहरूको उपस्थिति तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको थिएन ।
राष्ट्रपति ट्रम्पले भने आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआई-निर्मित भिडियोहरूको शृङखला सार्वजनिक गरे । एउटामा उनीलाई मुकुट लगाएर लडाकू जेट उडाउन र विरोधीहरूलाई अपमानित गर्ने दृश्य देखाइएको थियो ।
उनका सहयोगीहरूले पनि प्रदर्शनलाई ‘घृणा अमेरिका र्याली’ भन्दै व्यङ्ग्य गरेका थिए । सदनका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीहरूलाई ‘मार्क्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीहरू’ को मिश्रण भएको बताए ।
तर प्रदर्शनकारीहरूले ती आरोपलाई हास्यात्मक रूपमा खारेज गरे ।

प्रतिक्रिया