दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

नेपालखोज २०८२ कार्तिक ३ गते १०:५३

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका-१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका-२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका-१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए । जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले सङ्क्रमितमध्ये नौ जना पूर्णरुपमा निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिए ।

सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका-६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक/एकजना रहेका उनले बताए ।

सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै रहेका उहाँले जानकारी दिनुभयो । तिवारीकाअनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ ।

धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको तिवारीको भनाइ छ । जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने उनले बताए ।

यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुङ्गर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उल्लेख गर्दै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताए ।

यसैबीच, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलले जिल्लामा सबैभन्दा बढी कावासोतीमा यो रोग देखिएको भन्दै यसको न्यूनीकरणका लागि काम गरिरहेको बताए । उनले पालिकाभित्रका टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी एवम् नागरिक समाजको माध्यमबाट जापानिज इन्सेफलाइटिस रोग र यसबाट जोगिने उपायको बारेमा सचेता फैलाइएको बताए ।

लामखुट्टेको टोकाइबाट जोगिन हाँस कुखुरा तथा सुङ्गुर-बङ्गुरको खोर समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने तथा पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने भुर्तेलको भनाइ छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया