बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

नेपालखोज २०८२ कार्तिक ३ गते १३:१२

भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।

आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजारसम्ममा बिक्री गरेका छन् ।

एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका-५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले आज एउटा सयपत्रीको माला एक हजार ५०० का दरले खरिद गरेको जानकारी दिए ।

राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताए । उनले काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० मा बिक्री गरेकोमा आइतबार ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताए ।

खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० मा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिए ।

एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० मा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ मा बिक्री गरेकाले व्यापारीले १०० सम्ममा बिक्री गरेको बताए । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताए ।

गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० देखि ५०० सम्ममा बिक्री भएको बताए । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिए । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताए ।

गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिए ।

बजारमा फूल र मालासँगै लक्ष्मी पुजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० मा बिक्री हुँदै आएकोमा आज १५० सम्ममा बिक्री भएको र बिमिरो ३० मा बिक्री हुँदै आएकोमा आज १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् ।

प्रतिक्रिया