काठका भाँडाकुँडाबाट आत्मनिर्भर

नेपालखोज २०८२ कार्तिक ६ गते १९:५५

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन । निर्माण गरिएका भाँडाकुडा बिक्री गरी मुक्त कमैया परिवारका उहाँ आत्मनिर्भर बनेका छन् ।

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाएका छन् । बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त रहन्छन् ।

काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरुसँग रकमका लागि हात थाप्नु परेको छैन, चौधरीले भने, महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रुपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ ।

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रुपमा रहेको चौधरी बताए ।

चौधरीले भने, विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ । उनले बनाएका वस्तु रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुन्छन् । स्थानीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उनले बताए ।

काठको सीप सिक्न त्यति सहज थिएन, चौधरी भने, बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिन्दारको घरमै बित्यो, अलि जान्ने बुझने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो । गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उनले बता ।

प्रतिक्रिया