जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

भोजपुर । रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्याँैला मल उत्पादन थालेका छन् । महिलाहरुलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताइन् ।
महिलाहरुलाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको उनको भनाइ छ । यो कार्यक्रम आबद्ध महिला समूहले उत्पादन गरेको गड्याैंला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले जानकारी दिए ।
किसानले उत्पादन गरेको गड्याैँला मल प्रतिकेजी रु २२ मा गाउँपालिकाले खरिद गरी दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई माग आधारमा अनुदानमा वितरण हुँदै आएको उनको भनाइ छ । -रासस

प्रतिक्रिया