‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

नेपालखोज २०८२ कार्तिक ७ गते १७:१७

काठमाडौं। ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् ।

‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याए । जेनजी युवा सडकमा विजयी र वार्तामा पराजित भए पनि अब एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्छ, उनले भने, जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेनजी एकताबद्ध हुनुपर्छ, अहिले हाम्रो राष्ट्र भन्दा ठूलो केही छैन ।

घाइते कार्कीले २०८४ को निर्वाचनलाई २०८२ मा सार्नका लागि मात्रै वर्तमान सरकार नबनेको भन्दै आन्दोलनको भावना र माग पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

जेनजी एकताको माग गर्दै माइतीघरमा खबरदारी सभा गर्दै आएको सो संस्थाले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी रहने जनाएको छ । जेनजी एकता अभियान्ता ज्योतिका राईले सरकारले नै सम्पूर्ण जेनजी युवालाई एकताबद्ध हुन पहल र आह्वान गर्नुपर्ने आफूहरुको माग रहेको र सो माग पूरा नभएसम्म विरोध जारी रहने बताए ।

प्रतिक्रिया