सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ प्रवेश गर्दा पहिलो नजरमै सफा र चिटिक्क सडकले जोकोहीको ध्यान तान्छ । सडक छेउका चोकचौराहामा बस्न बनाइएका गोलघरले गाउँको सौन्दर्यता थप्ने कार्य गरेका छन् । थारू समुदायको बाहुल्यता रहेको यो गाउँ अहिले सामूहिक एकता, संस्कृति संरक्षण र आत्मनिर्भर विकासका कारण चिनिन थालेको छ ।
गाउँका बासिन्दाले विकास र सहकार्यलाई जीवनशैलीकै रूपमा अपनाएका छन् । गाउँमा कुनै सभा, छलफल वा बैठक गर्न छुट्टै भवन निर्माण गरिएको छ । आपतविपद् वा कुनै सामाजिक कार्यमा गाउँका युवादेखि वृद्धसम्म सबै एकजुट भएर लाग्छन् । यही सामूहिक भावना र सहयोगकै कारण सिंहपुर ‘एकताको गाउँ’को उपनामले परिचित छ ।
संस्कृति संरक्षणमा पनि गाउँ अग्रस्थानमा छ । थारू समुदायको परम्परागत नाच, गीत, पहिरन र चालचलन जोगाउन युवाहरू सक्रिय छन् । गाउँमा युवालाई एकजुट गराउन ‘सिंहपुर युवा क्लब’ गठन गरिएको छ भने प्रौढहरूको सहभागिता सुनिश्चित गर्न ‘सिंहपुर गाउँ समाज’ स्थापना गरिएको छ । यी दुई संस्था सामाजिक र सांस्कृतिक एकताको माध्यम बनेका छन् ।
क्लबमा हाल ७२ युवा आबद्ध छन् । गाउँ समाजमा ६९ सदस्य छन् । दुवै संस्थाले गाउँमा सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता अभिवृद्धि गर्न उल्लेखनीय योगदान दिएका छन् । गाउँ समाजका भलमन्सा ठाकुराम चौधरीका अनुसार गाउँमा विवाह, धार्मिक अनुष्ठान वा भोजभतेरका लागि बाहिरबाट टेन्ट वा भाँडाकुँडा ल्याउनु पर्दैन ।
हाम्रो समाजसँगै डिजेबाजा, टेन्ट, भाँडाकुँडा सबै उपलब्ध छन्, सबै सामग्री गाउँकै स्रोतबाट जुटाइन्छ, जसले खर्च घटाएको छ भने सहकार्य बढाएको छ, चौधरीले भने । समाजका सदस्यहरूले मौसमअनुसार धान, गहुँ सङ्कलन गरी बिक्री गरेर कोषमा जम्मा गर्छन् । अन्न नहुने सदस्यले नगद रकम योगदान गर्छन् । हाल समाजको कोषमा १५ लाख बचत छ । गाउँका सदस्यलाई आपतविपद् परेका बेला एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको भलमन्सा चौधरी बताउनुहुन्छ ।
कसैलाई आकस्मिक रूपमा बिरामी परे वा दुर्घटना भयो भने बैंक–सहकारी धाउन नपर्ने व्यवस्था गरेका छौँ, समाजका वरिष्ठ सदस्य जोगराज चौधरीले भने, पाँच हजारसम्मको सहयोग निःशुल्क दिइन्छ, त्यसभन्दा बढीमा ब्याज लिइन्छ । अहिलेसम्म ११ व्यक्तिलाई कोषबाट सहयोग प्रदान गरिएको छ ।
युवाले पनि छुट्टै बचत कोष सञ्चालन गरेका छन् । प्रत्येक महिनाको बैठकमा क्लबका सदस्यले रु ५० बचत गर्छन् । युवाको कोषमा पनि रु १५ लाखको हाराहारीमा रकम बचत छ । क्लबका अध्यक्ष बाबुराम चौधरीका अनुसार छ–छ महिनामा युवाको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना हुने गरेको छ ।
सरसफाइ गर्दा हुने फाइदा र नहुँदाका बेफाइदाबारे गाउँका बासिन्दालाई भेला गराएर जानकारी गराउने कार्य गरिँदै आएको छ । योसँगै लागुऔषध, मानव बेचबिखन तथा सामाजिक सञ्जालमा हुने ठगीबारे चेतनामूलक कार्यक्रम पनि नियमित रूपमा क्लबका आबद्ध युवाले स्वःस्फुर्त रूपमा सञ्चालन गर्दै आएका छन् । उनीहरुले समाजसँग सहकार्य गर्दै संस्कृति संरक्षणमा समेत अग्रसरता लिँदै आएका छन् ।
क्लबको मासिक बैठकमा समाज सुधार गर्न, चेतनमूलक कार्यक्रम गर्न, खेलकुदका गतिविधि सञ्चालन गर्न, युवाहरूको नेतृत्व विकाससम्बन्धीका छलफल हुने गरेको छ । खेलकुदको विकासमा पनि क्लब र समाज अग्रसर छन् । खेलाडीलाई हरेक वर्ष खेल सामग्री, जर्सीलगायत सामग्री वितरण गरिन्छ । गाउँमै खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।
समाज र युवा क्लबले संयुक्त रूपमा रु सात लाखमा जग्गा खरिद गरी करिब रु २० लाख लागतमा पक्की सभाहल निर्माण गरेको स्थानीय नत्थुराम चौधरीले बताए । यही भवन अहिले गाउँका सबै सामूहिक गतिविधिको केन्द्र बनेको छ । सिंहपुरको सामुदायिक वनमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकासँग सहकार्य गरी पाहुनाघर पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया