शनिबार, मंसिर २७, २०८२

तराईमा मनाइँने छठ पर्वको शुभकामना

सुनील उलक २०८२ कार्तिक ९ गते १०:५३

तस्बिरमा ५९ वर्ष अगाडिको छठ पूजा ।

काठमाडाैं । छठ पर्व वास्तवमा षष्ठी पर्वबाट अपभ्रंश भई बनेको हो । षष्ठी तिथिमा मनाइने हुँदा छठी पर्व हुँदै छठ पर्व हुन पुग्यो । विशेष गरी यो पर्व भारतको उत्तर प्रदेशबाट सुरु भएको मानिन्छ । बिहार र बिहारसँग जोडिएको नेपालको तराइमा मनाउने गरिन्थ्यो । तर अहिले तराइवासीहरू पुगेको अधिकांश ठाउँमा पनि मनाउन थालिसकेको छ ।

हिन्दु आख्यानहरूका अनुसार यो पर्व षष्ठी देवीको पूजा हो । षष्ठी देवीको साथ सूर्यलाई पनि पूजा गरिन्छ । हिन्दु आख्यानहरूका अनुसार सूर्य र षष्ठी दाजु बहिनी हुन । तिहारको पाँच दिन यमपञ्चक मनाइए पछि भाइ टीका अर्थात् भैया दून पछि एक दिन खालि भई चतुर्थी तिथि देखि चार दिन विशेष गरेर छठ पर्व मनाउने गरिन्छ । यसरी नेपालको तराइमा तथा भारतको बिहार र उत्तर प्रदेशमा तिहार पनि करिब करिब १० दिन लामो हुने गर्दछ । अचेल नेपाल सरकारले पनि छठ पर्वको छुट्टी दिन थालेको छ ।

हिन्दु आख्यानहरूमा जे जस्तो कथा गाँसिए पनि यो पर्व प्रकृति पूजा हो । यसको सुरुवात गुप्तकामा नै भएको मान्यता छ । इस्वी स्वमत ११३० मा लेखिएको एक पुस्तकमा यस पर्वको बारेमा विस्तृत लेखिएको भेटिएको छ । जसलाई प्रामाणिक इतिहास मानिने हो भने यसको सुरुवात बाह्रौँ शताब्दीमा भएको मान्नुपर्दछ । त्यस बेलाको गहडवाल राज्यमा यस षष्ठी पर्व मनाउन थालिएको मान्यता छ । गहडवालको राजधानी काशी थियो भने यो राज्य अहिलेको उत्तर प्रदेशको पूर्वी भाग तथा बिहारको पश्चिम भागमा पर्दथ्यो । अधिकांश गङ्गा नदी किनारमा तथा केही अन्य गङ्गाका सहायक नदीका किनारमा यो पर्व मनाइने गरिन्थ्यो ।

तत्कालीन समयमा षष्ठी माताको पूजा सन्तान प्राप्तिका लागि विशेष रूपले गर्ने गर्दथे । यसरी प्राप्त भएको सन्तानको नाम षष्ठीदत्त राखिने गरिन्थ्यो । यसरी षष्ठी माताको रूपमा व्रत बस्ने तथा पूजा गर्ने गरिएको प्रमाणहरू भेटिएका छन् । अहिले पनि छठको पूजा गर्नेहरू अधिकांश गङ्गा नदी र यसका सहायक नदी वरपर रहनेहरू नै भेटिन्छन् । अन्य नदीहरूमा भने यस क्षेत्रका मानिसहरूको स्थानान्तरण भई बसोबास रहेका ठाउँहरूमा भेटिन्छ । पोखरामा पनि पहिले पहिले छठ पूजा भएको थाहा थिएन तर अचेल सेती किनारमा छठ घाट बनाएर तराइवासीहरूले पूजा गरेको देख्न सकिन्छ ।

कसरी गरिन्छ पूजा वा कसरी बसिन्छ व्रत

छठ व्रतलाई कठिन व्रतका रूपमा पनि लिइन्छ । वर्षमा दुई पटक मनाउने गरिए पनि चैतको छठको भन्दा बढी कार्तिकको छठलाई बढी महत्त्व दिइन्छ । खास गरी महिलाहरूले यो व्रत बस्ने भए पनि पुरुषहरू पनि यो व्रत बसेको भेटिन्छ ।

पहिलो दिन नहाये खाये

कार्तिक शुक्ल चतुर्थीको दिन बिहानै घर सफा गरेर नुहाइधुवाइ गरेपछि छठ पर्वको शुरुवात हुने गर्दछ । ब्रत बस्ने महिला वा पुरुषले पहिलो दिन केवल एक छाक त्यो पनि शुद्ध शाकाहारी भोजन गरेर बस्दछन् ।

दोश्रो दिन खरना

दोस्रो दिन पञ्चमीको दिन बर्तालुले पुरै दिन उपवास बस्दछन् । साँझ सूर्य अस्त भएपछि बल्ल खीर खाने गरिन्छ । तर खीरमा चीनी प्रयोग नगरेर सक्खर तथा उखुको रस प्रयोग गरिन्छ । यस दिन साँझ सूर्यलाई खीर चढाए पछि बर्तालु एकान्त वास बस्ने गर्दछन् । बर्तालु आवाज सुन्न वा बोल्न नहुने भनेर घरका सदस्य समेत चुपचाप बस्ने वा अन्त बस्न जाने गर्दछन् । मध्य रातमा छठ पूजाको प्रमुख प्रसादका रूपमा ठेकुवा (एक प्रकारको कुरिज) बनाउने गरिन्छ । दोस्रो दिनको पूजालाई “खरना” भन्ने गरिन्छ ।

तेश्रो दिन सँझिया अरघ

अघिल्लो दिन बसेको उपवास भोलिपल्ट अर्थात् छठको तेस्रो दिन पनि निरन्तर रहन्छ । यसरी करिब ३६ घण्टा लामो उपवास हुने गर्दछ । तेस्रो दिनको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने प्रक्रिया हुन्छ । यसको लागि नदी किनारमा छठ घाट सरकारका तर्फबाट वा सामाजिक कार्यकर्ताहरूको अगुवाइमा तैयार बनाइएको हुन्छ । जसमा हरेक बर्तालु बसेर पूजा गर्ने तथा सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

पूजाका लागि बाँसको टोकरीमा सामग्रीहरू राखेर घरको पुरुष सदस्यले बोकेर छठ घाटमा लैजाने गरिन्छ । टोकरीमा फलफूलहरू नरिवल, स्याउ, केरा, सुन्तला आदि फलफूलका साथ गुहको पिठोबाट बनेको ठेकिआ तथा चामलको पिठोबाट बनेको भुसुना पनि बाँसको टोकरीमा लिएर जानुपर्दछ । साथमा बेसार, अदुवा, मुला, उखु धागो पनि लिएर जाने गरिन्छ ।

छठ घाटमा केराको बोट तथा उखु गाडेर आफ्नो स्थान सजाएका हुन्छन् । यसको साथ साथै माटोबाट बनेका हात्ती पनि सजाएर राख्दछन् । माटोको दियोमा बत्ती बालेर पूजा आरम्भ गरिन्छ । अचेल सम्पन्नहरूले केराको सिङ्गै घारी नै सजाएको पनि देखिन्छ । यसरी सामग्रीहरू जुटाएपछि साँझ सूर्य डुब्ने बेलामा पूजाको अनुष्ठान सुरु हुन्छ । अन्तमा पानीमा आधा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा समाप्त गरिन्छ ।

कतिपय स्थानमा तराइका मधेशी समुदायको साथसाथै गैर मधेशी, पहाडी समुदाय, दलित तथा मुस्लिम समुदायकाहरुले पनि यो पर्व साथसाथै मनाउने गरेको पाइन्छ ।

उषाअर्ध्य

चौथो दिन बिहानै सूर्यको उदय समयमा अर्ध्य दिए पछि बल्ल छठ पर्व समाप्त हुन्छ ।

प्रतिक्रिया