बुधबार, पुष ९, २०८२

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

नेपालखोज २०८२ कार्तिक ९ गते १३:१३

काठमाडाैं । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।

सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायीत्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।’

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गरे भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिए ।

क्वालालम्पुरमा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो ।

जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि’ बलियो पार्ने अवसर दिएको छ ।

ट्रम्प मलेसियाको राजधानीमा ०२:०० जिएमटी तिर आइपुगे । उनले स्थानीय कलाकारहरूसँग आफ्नो प्रसिद्ध अभियान शैलीमा नृत्य प्रदर्शन गरे र अमेरिकी तथा मलेसियाली झण्डा एकसाथ फहराए । भोलिपल्ट उहाँले मलेसियासँग व्यापार र महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

विशेषत: प्रविधि उत्पादनमा आवश्यक घटकहरूको आपूर्तिलाई विविधिकरण गर्न संयुक्त राज्य अमेरिका हाल चीनमा निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ । यस सन्दर्भमा ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुन: सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एकपटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी भएका थिए । यसपालि कार्यक्रममा उनले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गरेका छन् ।

थाइल्यान्ड र कम्बोडियाबीच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए । यो पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो सशस्त्र झडप थियो ।

त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ ।

प्रतिक्रिया