कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

नेपालखोज २०८२ कार्तिक ११ गते १९:३८

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण कार्य सुरु गर्न निर्देशन दिएक छन् । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका हुन् ।

प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै त्यसको पुनर्निर्माण र सरसफाइ अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो । आज सभामुख नन्दा गुरुङ र प्रदेशसभा सचिव जीवराज बुढाथोकीसँग प्रदेशसभामा भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले सभाको हलबाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरु गर्न सुझाए ।

सुरुआती चरणमा आवश्यक आधारभूत व्यवस्थापनजस्तै प्लास्टिकका कुर्सी, सामान्य सरसफाइसहित दश दिनभित्र प्रशासनिक भवनको पुनर्निर्माण व्यवस्थापन गर्न उहाँले निर्देशन दिए । भदौ २४ गतेको आन्दोलनपश्चात् करिब ५० दिन बितिसक्दा पनि प्रदेशसभा परिसरमा सरसफाइ र पुनःसंरचना सुरु नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘कर्मचारी हुनुहुन्छ तर ढलेका बोर्ड, फोहर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान दिइएको छैन । यो सामान्य काम हो । अब परिस्थिति सामान्य बनाउन सबै अग्रसर हुनुपर्छ ।’

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेशसभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको बताए । भेटघाटमा सभामुख गुरुङ र सचिव बुढाथोकीले पनि मुख्यमन्त्रीलाई भवन पुनर्निर्माणका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दै निर्माण कार्यको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । -रासस

प्रतिक्रिया